January 08, 2082
एजेन्सी, २ मंसिर
जर्मनी र नेदरल्यान्डस् आगामी वर्ष हुने फिफा विश्वकपको लागि छनोट भएका छन् । युरोपियन छनोटमा स्लोभाकियालाई ६–० ले हराउँदैं पुर्व च्याम्पियन जर्मनीले फिफा विश्वकपमा स्थान पक्का गरेको हो । यसैगरी नेदरल्यान्ड्सले लिथुआनियाविरुद्ध ४–० को सहज सजत निकाल्यो । जितसँगै नेदरल्यान्ड्स आठ खेलमा २० अंकका साथ समूह ‘जी’ को शीर्ष स्थानमा पुगेको छ ।
यसैगरी ६ खेलमा १५ अंक जोडेको जर्मनी समूह ‘ए’ को शीर्ष स्थानमा पुग्यो । रेडबुल एरिनामा घरेलु टोली जर्मनीलाई जित दिलाउन लिरोय सानले दुई तथा निक वोल्टेमेड, सर्ज गिनाब्री, रिडल बाकु र असान ओएड्रागोले समान एक गोल गर्नु भयो । खेलको १८औं मिनेटमा वोल्टेमेडको गोलमार्फत जर्मनीले अग्रता लिएको थियो । ११ मिनेटपछि गिनाब्रीले टोलीको अग्रता दोब्बर बनाउनु भयो । सनले ३६ र ४१औं मिनेटमा गोल गरेपछि जर्मनीले पहिलो हाफमै ४–० को आरामदायी अग्रता लिएको थियो । बाकुले ६७औं मिनेटमा टोलीका लागि पाँचौं गोल गर्नु भयो । ७९औं मिनेटमा ओएड्रागोले गोल गर्दा जर्मनीले ६–० को एकतर्फी जित निकाल्यो ।
जर्मनी आगामी विश्वकपमा छनोट हुने छैटौं युरोपियन तथा समग्रमा ३३औं राष्ट्र हो । यसअघि युरोपबाट इङ्ल्यान्ड, फ्रान्स, कोएसिया, पोर्चुगल र नर्वे, अफ्रिकाबाट मोरक्को, ट्युनिसिया, इजिप्ट, अल्जेरिया, घाना, आइभोरी कोस्ट, केप भर्डे र सेनेगल, एसियाबाट अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, जोर्डन, उज्वेकिस्तान, कतार, साउदी अरेबिया र इरान, दक्षिण अमेरिकाबाट अर्जेन्टिना, ब्राजिल, कोलम्बिया, इक्वेडर, उ?ग्वे र पाराग्वे तथा ओसियन प्यासिफिकबाट न्युजिल्यान्डले छनोट चरण पार गरेर विश्वकपमा स्थान पक्का गरिसकेका छन् । यस्तै अमेरिका, क्यानाडा र मेक्सिकोले आयोजकका रूपमा सिधै विश्वकप खेल्दैछन् । ४८ टोलीको सहभागिता रहने फिफा विश्वकप आगामी जुन ११ देखि जुलाई १९ सम्म हुँदैछ ।
यसैगरी नेदरल्यान्ड्सले लिथुआनियाविरुद्ध ४–० को सहज जित निकालेपछि आठ खेलमा २० अंकका साथ समूह ‘जी’ को शीर्ष स्थानमा पुगेको छ । जोहान क्रुइफ एरिनामा घरेलु टेली नेदरल्यान्ड्सलाई जित दिलाउन तिज्जानी रेइन्डर्स, कोडी गाक्पो, जाभी सिमेन्स र डोनेल मालेनले गोल गर्नु भयो ।
खेलको १६औं मिनेटमा रेइन्डर्सको गोलमार्फत नेदरल्यान्ड्सले अग्रता लिएको थियो । ५८औं मिनेटमा गाक्पोले पेनाल्टीमार्फत टोलीको अग्रता दोब्बर बनाए । त्यसको दुई मिनेटपछि नै सिमोन्सले गोल गर्दा नेदरल्यान्ड्सको अग्रता ३–० मा पुग्यो । ६२औं मिनेटमा मालेनले टोलीका लागि चौथो गोल गरे । नेदरल्यान्ड्स आगामी विश्वकपमा छनोट हुने सातौं युरोपियन तथा समग्रमा ३४औं राष्ट्र हो ।