Logo
RANGASHALA NEWS
BREAKING NEWS
No breaking news available
Nepal Flag
Football
Football

एसियन कप खेल्ने नेपालको लक्ष्य असफल

February 11, 2025

अर्को वर्ष साउदी अरेबियामा हुने एएफसी एसियन कपमा छनोट हुने नेपालको चुनौती समाप्त भएको छ । मंगलबार तेस्रो चरणको चौथो खेलमा भियतनामसँग १–० को पराजय बेहोरेसँगै नेपालको झिनो गणितीय सम्भावना सकिएको हो ।

मंगलबार हहो चि मिन्ह सहरस्थित थोङ निह्याट रंगशालामा सम्पन्न खेलमा सेन्टरब्याक सुमन श्रेष्ठको आत्मघाती गोल भियतनामको जितमा निर्णायक बन्यो । खेलको पाँचौं मिनेटमा भियतनामको कर्नरलाई क्लियर गर्ने प्रयासमा सुमनबाट गल्ती भएको थियो । यसबाहेक गोलकिपर तथा कप्तान किरण चेम्जोङले भियतनामका आधा दर्जन गोलका अवसरलाई विफल पार्दा ‘स्कोरलाइन’को भिन्नता एक गोलमा सीमित भएको हो ।

मुसलधारे वर्षाका कारण ३० मिनेट पर धकेलिएको खेलमा नेपाललाई हिलाम्मे मैदानले गाह्रो बनाएको थियो । जहाँ नेपाललाई ‘पोसेसन’ कायम राख्न हम्मे भइरहेको थियो, भियतनामले एकपछि अर्को अवसर सृजना गरिरह्यो । तर, भियतनामको हरेक प्रयासमा किरण बाधक रहे । पहिलो हाफमा भियतनामका तीन प्रयासलाई विफल पारिदिएका किरणको खेल अन्तिम ४५ मिनेट पनि त्यस्तै रह्यो ।

पहिलो हाफको मध्यतिर फरवार्ड एनगुएन टाइन लिन्हले पेनाल्टी बक्सभित्रबाट गरेको शक्तिशाली प्रहार क्रसबारमा लागेर बाहिरिँदा भियतनामले अग्रतालाई दोब्बर बनाउन सकेन । ३१औं मिनेटमा अर्का फरवार्ड एनगुएन थान्ह न्हानको प्रहार पनि पहिलो बारमा लागेर बाहिरियो । उनले पनि पेनाल्टी बक्स भित्रबाटै गोलको ‘अटेम्प्ट’ गरेका थिए । निर्धारित हाफ सकिन दुई मिनेट बाँकी छँदा ट्रोउङ टाइन अन्ह गोलको निक्कै करिब रहे । आफ्ना सहकर्मीको सुन्दर थ्रु पासलाई सदुपयोग गर्दै बक्सभित्र बल अगाडि बढाएका ट्रोउङको अन्तिम प्रहार फितलो रहन पुग्यो । जसलाई बचाउन किरणलाई कुनै पनि अफ्ठ्यारो भएन । अन्तिम मिनेटमा टाइन अन्हको पासमा भान भीको हेडर त्यति शक्तिशाली नरहँदा किरणलाई फेरि पनि कुनै कठिनाई भएन ।
तेस्रो चरणमा नेपालको यो लगातार चौथो हार हो । पाँच दिनअघि मात्र नेपालले भियतनामसँग ३–१ को हार बेहोरेको थियो । एक अंक पनि नजोडेको नेपालले १८ नोभेम्बरमा मलेसिया र २०२६ को मार्चमा लाओससँग दोस्रो लेग खेल्ने तालिका छ । चार खेलबाट ९ अंक जोडेको भियतनाम शीर्ष स्थानमा रहेको मलेसियालाई पछ्याइरहेको छ । मलेसियाले सबै चार खेलमा विजयी हासिल गरेको छ । मंगलबार सम्पन्न चौथो खेलमा मलेसियाले लाओसलाई ५–१ ले हरायो ।

Back
WhatsApp